तम्रा घरका जगै रातो



तम्रा घरका जगै रातो
या हुन् बलिवेदी रगतका रंग ती
आँगनको लिपाइ रातो
या हुन् रक्ताम्य रेटिएका अंग ती
ढुंगामाथि निशानै रातो
या हुन् नृशंस नरसंहारका चोट ती
सडकान्त स्तम्भै रातो
या हुन् गलेका गुरिल्ला लेखोट ती
घाँसको सिरैसिर रातो
या हुन् घाइते बिसाएका छाप ती
झारको झ्याङ्गै रातो
या हुन् लट्केका लाशका राप ती
बोटको गुराँसै रातो
या हुन् आला रगतका डोब ती
तम्रा त डाँडा नै रातो
या हुन् रूष्ट प्रकृतिका क्षोभ ती
रात्तै रात छ प्रात रात्तो
तैपनि किन आँगन रित्तो, कर्णाली ।

तम्रै दैलोमा अतिथि हम्मी, घरमूली खै
सुन्नै आयौं, तम्रा टट्किका बोली खै?
खै कहाँ छन् चौरी चराउने गोठालाहरू
खै कहाँ छन् हुड्के नाच्ने बालाहरू?
खै माण्ठा, गाउँभरि किन सुनसान ?
लाग्छ मानौं, सभ्यताको होस् अवसान
सूनसान छ शून्यता शीतलता पनि
हुन्डरी सुनिन्छ सिरसिरे चल्दा पनि
दुख्छ आफ्नै छिनिएको घाँटी, चसक्क
रातै छ मेरो पनि गलबन्दी, निथ्रुक्क।

रातो कर्णाली – डा. सी. के. राउत
२०८१-१-१२

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार