डिला विसीको गजल: गतिलो नहुँदा



जुन घरको छानो चुहिन थाल्यो दार गतिलो नहुँदा
त्यही घरको सम्बन्ध फाट्यो घरबार गतिलो नहुँदा ।

दुःख कष्ट पीडा भोग्नु परेको छ, बच्चाहरुलाई
आफ्नै बाबा आमाको व्यवहार गतिलो नहुँदा ।

हतारमा आएको थियो दुश्मन काटेर जान्छु भन्दै
फेरि बिच बाटोमै रोकियो हतियार गतिलो नहुँदा ।

देश बनाउँछु भन्नेहरु देश बनाउनुस् महोदय
बरु फरक नपर्ला बालुवाटार गतिलो नहुँदा ।

धौ–धौ साँचेको जोवन पनि पराइको भयो
माया गर्छु भन्नेको हेरविचार गतिलो नहुँदा ।

 

प्रकाशित मिति : २०८१ कात्तिक १० गते शनिबार